नेपाल मगर संघ चौदण्डीगढीले नयाँ नेतृत्व पाएको छ । बेल्टार बजारस्थित भुपु सैनिक संघको सभाहलमा आज सम्पन्न संघको तेश्रो नगर अधिबेशनले ललिता मगरको अध्यक्षतामा २१ सदस्य नगर कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सम्झना मगर, सचिवमा अरुण पुलामी मगर, सह सचिवमा लिल बहादुर मगर र कोषाध्यक्षमा दिल बहादुर मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा मेनुका मगर, खड्क मगर, मिना मगर, मोहन मगर, सुनिता मगर लगायत रहेको निर्वाचन मण्डलका अध्यक्ष डिल्ली बहादुर मगरले जानकारी दिएका छन् ।

नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष सिता राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संघको तेश्रो नगर अधिबेशनमा शुभकामना दिदै मगर अगुवाहरुले मगरहरुको भेषभुषा, भाषा, संस्कार, संस्कृती, धर्म र पहिचान नै लोप हुने अबस्थामा भएकाले त्यसको जगेर्नामा मगर समुदाय एकजुट भएर लागीपुर्नपर्ने धारणा राखेका थिए । उनीहरुले राज्यको नीतिनिर्माताहरुले मगर समुदायलाई उपेक्षा गरेर बताउदै मगर समुदायको राज्यको अङ्गहरुमा न्युन उपस्थिती रहेको बताएका थिए । मगर भएकै कारण हेपेको खण्डमा सामुहिक प्रतिकार जरुरी रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा मगर अगुवाहरु खम्मर थापा मगर, केशव मगर, भवनाथ मगर, हुकुम मगर, नरेन्द्र घाघा मगर, डिल्ली बहादुर मगर, डमर पुलामी मगर लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम नेपाल मगर संघ चौदण्डीगढीका अध्यक्ष चित्र केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
