उदयपुरको चौदण्डीगढी नगरपालिकाका युवाहरुको समुह हेर्ने युवा संस्थाले आगलागी पीडितलाई राहत सामाग्री सहयोग गरेको छ ।

भदौ १२ गते विहिबार आगलागीबाट पीडित भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ अजिङ्गरे टोलका वल बहादुर राईको परिवारलाई खाना पकाउने ग्याँस, चुल्हो, डस्ना, पंखा लगायतका सामाग्री पीडितको घरमै पुगेर प्रदान गरेको हेर्ने युवा संस्थाका अध्यक्ष दिपक पासवानले जानकारी दिएका छन् । संस्थामा आबद्ध युवाहरुबाट रकम संकलन गरेर पीडित परिवारका लागि राहत सामाग्री खरिद गरी हस्तान्तरण गरिएको पासवानले बताएका छन् । यसअघि पनि पटक पटक आर्थिक अबस्था कमजोर रहेका विरामी, वाढीपिडित, आगलागी पीडित लगायतलाई आर्थिक सहयोग र राहत सामाग्री उपलब्ध गराउदै आएको उनले जानकारी दिएका छन् । संस्थामा चौदण्डीगढीमा बिभिन्न पेशा ब्यबसायमा संलग्न युवाहरु आबद्ध रहेको र सहअस्तित्व र साझेदारी आजको युवाको जिम्मेवारी“ भन्ने मुल ध्येयलाई आत्मसात गर्दै आपतविपतमा परेकाहरुलाई सहयोग गर्दै आएको अध्यक्ष पासवानले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत विहिवार दिउँसो पौने ४ बजे विद्युत सर्ट भई आगलागी हुदाँ राईको दुईवटा घर, घरभित्र रहेका अन्नपात, भाडावर्तन, लताकपडा लगायत फर्निचर गरेर अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षती भएको थियो । पीडित परिवारलाई चौदण्डीगढी नगरपालिकाले समेत साद्यान्य, भाडाकुडा लगायतका राहत सामाग्री प्रदान गरेको थियो भने भोर्लेनीस्थित सहेली समुहले समेत खाद्यान्य तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको थियो ।
