इलाका प्रशासन कार्यालय माग गर्ने चौदण्डीगढी र बेलका नगरपालिकाको संयुक्त निर्णय ।

उदयपुरको दुई पालिका चौदण्डीगढी र बेलका नगरपालिकाले संयुक्तरुपमा इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय गरेको छ । आज चौदण्डीगढी नगरपालिकाको सभाहलमा दुवै पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितिमा बसेको बैठकले केन्द्र सरकारसमक्ष इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय गरेको हो । गत भदौ ९ बसेको मन्त्रिपरिषद्को बैठकले २३ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको थियो । प्रशासन समितिले आवश्यक छलफल गरी इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढाएको बेला उदयपुरका दुई पालिकाले इलाका प्रशासन माग गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउने उद्देश्यसहित चौदण्डीगढी र बेलका नगरपालिकाले संयुक्तरुपमा इलाका प्रशासन माग गर्ने निर्णय गरेको चौदण्डीगढीका मेयर कालुमान लामाले जानकारी दिएका छन् । उनले आजको बैठकको निर्णयलाई आधार मानेर नगर कार्यपालिकाले आबश्यक निर्णय गरेर अगाडि बढ्ने बताएका थिए ।

चौदण्डीगढी र बेलका नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवालाहरुको उपस्थितिमा भएको छलफलले इलाका प्रशासन कार्यालय कहाँ राख्ने भन्ने विषयमा टुंगोमा पुग्न नसकेको भएपनि दुई पालिकाका जनताको सहजताका लागि इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय भने सर्वसम्मतले पारित गरेको छ । उनीहरुले इलाका प्रशासन आउने पक्का भएपछि दुई पालिकाको भौगोलिक अवस्था, भौतिक संरचना लगायतका विषयलाई मध्येनजर गरेर कार्यालय कहाँ राख्ने भन्ने विषयमा टुंगोमा पुग्ने निर्णय गरेको बेलका नगरपालिकाका उपमेयर जिरा राईले जानकारी दिएकी छिन् ।

यसअघि बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा चौदण्डीगढीका पुर्व नगर प्रमुख खगेन्द्र राईले बेल्टार गाबिस हुदाँदेखी नै ईलाका प्रशासन कार्यालयको लागि माग गरिएको जानकारी दिदै २०७२ सालको संविधानमा ईलाका प्रशासन, मालपोत , नापी जस्ता अधिकारहरु स्थानीय तहमा रहेको उल्लेख भएपनि केन्द्र सरकारले नै राजनीतिक बैमानी गरेकोले त्यो अधिकार उपभोग गर्न नपाएको जिकिर गरेका थिए । उनले ईलाका प्रशासन कार्यालय माग गर्न ऐक्यवद्धता र सामुहिक पहल गर्नुपर्ने धारणा राख्दै ईलाका प्रशासन कार्यालय चौदण्डीगढीको बेल्टार वा वेलकाको रामपुर बजारमा रहेपनि आबश्यक ठाँउहरुमा शिविर संचालन गरेर भएपनि जनतालाई सेवासुबिधा दिन सकिने बताएका थिए । अर्को चरणमा कुन स्थानमा राख्दा हुन्छ त्यसको लागि ब्यापक छलफल गरेर निर्णय गर्नुपर्ने बताउदै राईले ईलाका प्रशासन ल्याउने बिषयमा भने साझा निर्णय गरेर जानुपर्ने धारणा राखेका थिए । यस्तै वेलका नगरपालिकाकी उप प्रमुख जिरा राईले साझा धारणाले मात्र निकास निस्क्ने बिचार राख्दै अहिले स्थानको बिषयमा बिबाद गर्न आबस्यक नभएको धारणा राखेकी थिईन । नेकपा एमाले चौदण्डीगढीका अध्यक्ष बिकास बन्जरा भने बेल्टार बजारस्थित पुरानो नगरपालिका स्थल रहेको ठाउँमा सुरक्षा हिसावले र सबैलाई पायक पर्ने भएकोले ईलाका प्रशासन कार्यालय राख्न सकिने जिकिर गर्दै यसलाई सबैले साझा स्थल मानेर निर्णय गर्नुपर्ने धारणा राखेका थिए भने नेपाली कांग्रेस चौदण्डीगढीका नगर सभापति राजेन्द्र पौडेलले शान्ति सुरक्षा, आर्थिक गतिविधि , सरज पहुँच लगायत सबैलाई मध्यनजर गर्दै बेल्टार बजारस्थित पुरानो नगरपालिकाको भवनमा कार्यालय राख्नुपर्ने धारणा राखेका थिए । नेकपा माओवादी केन्द्र चौदण्डीगढीका नगर अध्यक्ष दिनेश बायुङ राईले जनताको सेवा सुबिधासंग जोडिएको बिषय भएकोले ईलाका प्रशासन ल्याउनुपर्ने बिषयमा कसैको पनि दुबिधा नहरेको तर जोगिदहदेखी मैनामैनी सम्मको भुगोललाई मध्यनजर गर्नुपर्ने धारणा राखेका थिए । यस्तै माओवादी केन्द्र चौदण्डीगढीका नगर सचिव कुमार राईले सबैलाई पायकपर्ने हाईवे नजिकको स्थानमा कार्यालय राख्न सिफारिस गर्नुपर्ने बताएका थिए ।

रास्वपा चौदन्डीगढी नगर सभापति रमेश बिष्टले भने बाजारीकरण, सुरक्षाको हिसाबले बजार क्षेत्रमा सेवा केन्द्र राख्नुपर्ने धारणा राखेका थिए । बेलकाबासीलाई बेल्टारमा राख्दा दुरी छोटिने तर बेलकामा राख्दा चौदण्डीगढीबासीलाई अझै टाढा हुने बिचार उनले राखेका थिए । एमाले वेलकाका अध्यक्ष हिराजङ राईले सबैले एकमत भएर माग गरेमा ईलाका प्रशासन कार्यालय ल्याउन सकिने धारणा राख्दै बेलकामा ईलाका कार्यालय राख्न सहयोगका लागि आग्रह गरेका थिए । त्यस्तै माओवादी केन्द्र वेलकाका नगर ईन्चार्ज राकेश किरातीले अबिसकित भुमिलाई पनि बिकसित बनाउन , सबैको पहुँच पुग्ने भएकोले सुपाडे वा हातिसारमा राख्दा उपयुक्त हुने धारणा राखेका थिए । यस्तै एमाले नेता राजेन्द्र कटुवालले बेलका र चौडन्डीगढी नगरपालिकाका जनतालाई सहज पहुच पुग्ने गरी उपयुक्त स्थानमा राख्नका लागि सिफारिस गर्नुपर्ने बताएका थिए भने नेमाले नेतृ कान्ता राईले स्थानको बिषयमा बिबाद नगरी ईलाका प्रशासन कार्यालय ल्याउनका लागि पहल गर्नुपर्ने र स्थानको बिषयमा माथिल्लो निकायले नै छनौट गर्ने र त्यसलाई मान्यता दिनुपर्ने धारणा राखेकी थिईन् ।

यस्तै आज बसेको दुई पालिकाको संयुक्त बैठकले चौदण्डीगढी नगरपालिकाको बेल्टार र बेलका नगरपालिकाको रामपुरमा रहेको इलाका प्रहरी कार्यालयमा हाल प्रहरी निरिक्षकको कमाण्ड रहेकोमा दुवै कार्यालयमा डिएसपी (प्रहरी नायव उपरीक्षक)को दरबन्दी समेत माग गर्नेसर्वसम्मत निर्णय गरेको छ ।