उदयपुरको बेलका नगरपालिकामा आयोजना हुने तेस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको लोगो र मिति सार्वजनिक भएको छ । बेलका नगरपालिकाको बहुचर्चित पर्यटकीय स्थल वार्ड नं. ८ स्थित बोप्ताङमा आयोजित एक कार्यक्रमकोबीच ब्रदरहुड फुटवल क्लब उदयपुरले आयोजना गर्ने तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको लोगो र मिति नगरप्रमुख अशोक कार्कीले सार्वजनिक गरेका हुन् ।

आयोजक ब्रदरहुड फुटवल क्लबका अध्यक्ष रविन तामाङका अनुसार प्रतियोगिता आगामी २०८२ साल असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म बेलका नगरपालिका वडा नम्बर ६ स्थित लेकाली खेलमैदानमा सञ्चालन हुने छ । यस्तै प्रतियोगिताको विजेता टोलीले २,२२,२२२ रुपैयाँ नगद र उपविजेता टोलीले १,११,१११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने तामाङ्गले बताएका छन् । साथै विद्यागततर्फ पनि उत्कृष्ट खेलाडीलाई विशेष सम्मान तथा आकर्षक पुरस्कार प्रदान गरिने जनाईएको छ । यस पटक पुरुस्कार रकम दोब्बर गरिएको तामाङ्गले जानकारी दिएका छन् । गत बर्ष दोश्रो संस्करणको वेलका गोल्डकपको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए । प्रतियोगितामा दोश्रो संस्करणको भन्दा उत्कृष्ट टिमहरुलाई सामेल गराउने प्रयास भैरहेको जानकारी दिदै प्रतियोगिता संचालन गर्न करिव २६ लाख रुपैयाँ लाग्ने तामाङ्गले बताएका थिए ।
कोशी टप्पुलाई चिनाउने हाती र अर्ना भैसीलाई प्रतियोगिताको लोगोको रुपमा सार्वजनिक गरिएको छ । यस्तै पर्यटकीय स्थल बोप्ताङबाट कार्यक्रम घोषणा गर्नुको मुख्य उद्देश्य खेलकुदसँगै बेलकाको पर्यटन प्रवद्र्धन गर्नु रहेको अध्यक्ष तामाङ्गले जानकारी दिएका छन् । खेलमार्फत स्थानीय प्रतिभा उजागर गर्नुका साथै नगरको प्राकृतिक सुन्दरता र सम्भावनालाई देशविदेशमा चिनाउने लक्ष्य प्रतियोतिाको रहेको तामाङ्गको भनाई छ । कार्यक्रमको दौरान बोप्ताङस्थित प्याराग्लाइडिङ स्थलको सरसफाइ कार्यक्रम समेत गरिएको थियो ।
