उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीको ऐलानी जग्गाको नापी आजदेखी शुरु भएको छ । वडा नम्बर ६ को कटुन्जेमा आज आयोजित एक कार्यक्रममा नगर प्रमुख कालुमान लामाले ऐलानी जग्गाको नापी शुरु गरेका थिए । जिल्ला भुमि आयोग उदयपुरका अध्यक्ष वलबहादुर तामाङ्ग, जिल्ला समवन्य समिति उदयपुरका सदस्य मन्जु परियार, वडा अध्यक्ष अम्बर बहादुर खड्का, नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकार, , एमाले नेतृ कान्ता राई, स्थानीय राजनीतिक दलका प्रतिनीधि, सामाजिक अगुवा लगायत स्थानीय बासिन्दाको उपस्थितीमा भएको कार्यक्रममा नगर प्रमुख लामाले आफ्नै कार्यकालमा ऐलानी जग्गा नापजाँचको कार्य सकेर भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीको समस्या समाधान गर्ने बताएका थिए । उनले भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई उनीहरुले भोगचास गरेको जग्गा दिलाउने प्रतिबद्धता ब्यक्त गर्दै अब्यबस्थितको हकमा भुमी आयोगले समयमै काम सम्पन्न गर्न सकेमा लालपुर्जा नभए भोगपुष्टी हुने भोगाधिकार पुर्जा नगरपालिकाले वितरण गर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला भुमी आयोग उदयपुरका अध्यक्ष वल बहादुर तामाङ्गले चौदण्डीगढीमा ऐलानी जग्गा नापजाँचको कार्य अन्तिम चरणमा पुगेको बताउदै नगरपालिकाले गरेको कामको प्रशंसा गरेका थिए । अध्यक्ष्य तामाङ्गले भुमि सम्बन्धि ऐन संसोधनपछि एक पटकको लागि १० बर्षदेखी ऐलानी, पर्ति वा वन क्षेत्र जनिएको जग्गामा आमोद कमोद गरिएको हदबन्दीमा नपरेको जग्गाको लगत संकलन, पारिवारिक विवरण संकलन भैरहेको जानकारी दिदै लालपुर्जा लिदा भुमिहिन सुकुम्बासी र भुमिहिन दलितले राजस्व तिर्नुनपर्ने बताएका थिए । अब्यबस्थितको हकमा भने राजस्व बुझाउनु पर्ने तर त्यसको एकिन भै नसकेको उनको भनाई थियो ।
वडा नम्बर ६ मा भूमिहिन दलित ७७ , भूमिहीन सुकुम्बासी २९६ र अव्यवस्थित बसोबासीको संख्या ५९४ गरी जम्मा ९६७ जनाले फारम भरेको भुमी सेवा केन्द्र चौदण्डीगढीका प्रमुख यग्यराज श्रेष्ठले जानकारी दिएका छन् । अहिले वडा नम्बर ७ मा नापी चलिरहेको छ र पुरानो आयोगले नापी गरिसकेको तर विविध कारणले पुर्जा प्राप्त नभइसकेको जग्गाहरूको वडा नम्बर ४ मा स्थलगत भोकपुष्टि सर्जमिन कार्य भइरहेको पनि उनले बताएका छन् ।

यसैबिच जिल्ला भुमी आयोग उदयपुरले हिजो आईतवार भदौं ८ गते एक सुचना जारी गरी वडा नम्बर २ को सुगारे ,वडा नम्बर ५ को मित्रटोल , वडा नम्बर ९ को मनकामना, चन्द्र सूर्य र जलेश्वर टोल विकास संस्था अन्तर्गतको जग्गा नापी भै हकदावी सम्बन्धी ७ दिने सुचना प्रकाशन गरेको छ । आयोगले प्रकाशित गरेको नामावलीमा भूमिहीन दलित १२७ र भूमिहीन सुकुम्बासी ४७ जना गरी १७४ जना रहेको छ । यस बाहेक सरकारी जग्गा ४७ वटाको पनि लालपुर्जा निमार्णको चरणमा रहेको भुमी सेवा केन्द्र चौदण्डीगढीका प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । यसअघि गत बर्ष वडा नम्बर २ कै झोडापाटा र चार घरेका २८ घर भुमिहिन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिदै प्रमुख श्रेष्ठले अब थप ३० जना भुमिहिन दलित परिवारलाई पनि लालपुर्जा वितरण गर्ने योजना रहेको बताएका छन् । अघिल्लो आयोगबाट नै उनीहरुको नाम हक दाबीको लागि सूचना प्रकाशन भइसकेकोले अब उनीहरुको हकमा जग्गादर्ताको मात्रै सूचना प्रकाशन गरिने जानकारी भुमी सेवा केन्द्रका प्रमुख श्रेष्ठले दिएका छन् ।
