उदयपुरको बेलका नगरपालिकामा सम्पन्न दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक भएको छ । आयोजक ब्रदरहुड फुटवल क्लब वेलकाले आज रामपुरस्थित नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी आयब्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष रविन तामाङ्गले प्रस्तुत गरेको सार्वजनिक आयब्ययअनुसार दोश्रो संस्करणकोप्रतियोगिताबाट १३ लाख ७२ हजार ५ सय ८७ रुपैयाँ आम्दानी गरेको थियो भने १३ लाख ३ हजार १ सय १६ रुपैयाँ खर्च भएको थियो । प्रतियोगिताबाट ६९ हजार ४ सय ७१ रुपैयाँ बचत गर्न सफल भएको तामाङ्गले जानकारी दिएका थिए । गत बर्ष सम्पन्न दोश्रो संस्करणको विजेता उदयपुरको गाईघाट फुटवल क्लब रहेको थियो भने उपविजेता एभरेष्ट फुटवल क्लब सुनसरी भएको थियो । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए । यस्तै विद्यागततर्फ पनि पुरुस्कारको ब्यबस्था रहेको थियो । प्रतियोगितामा उदयपुर, सुनसरी, सिन्धुली, सिरहा र मोरङ्ग जिल्लाबाट फुटवल टिम सहभागी भएका थिए ।

यस्तै आयोजक ब्रदरहुड फुटवल क्लबका अध्यक्ष तामाङ्गले तेस्रो संस्करणको बेलका गोल्डकप आगामी दशैंपछि हुने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तामाङ्गले दोस्रो संस्करणसम्म सफलता पूर्वक खेल सम्पन्न गरेको बताउँदै तेस्रो संस्करणको प्रतियोगिता आगामी दशै र तिहारको बीचमा हुने जानकारी दिदै सहयोगको अपेक्षा गरिएको बताएका थिए । उनले तेश्रो संस्करणको प्रतियोगितामा पुरुस्कार रकम समेत बृद्धी गरी विजेतालाई २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुर्याइएको जानकारी दिएका छन् । उनले प्रतियोगितामा दोश्रो संस्करणको भन्दा उत्कृष्ट टिमहरुलाई सामेल गराउने प्रयास भैरहेको जानकारी दिदै प्रतियोगिता संचालन गर्न करिव २६ लाख रुपैयाँ लाग्ने बताएका थिए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बसन्त मगर, वडा नम्बर ९ का वडा अध्यक्ष भरत घिमिरे, वेलका नगर खेलकुद विकास समितिका अध्यक्ष गोपीलाल राई , स्थानीइ राजनीतिक दलका प्रतिनीधि, सुरक्षा निकायका प्रमुखहरु, संचारकर्मी, पत्रकार लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो ।
