चौदण्डीगढी साईकल सिटीको आयोजनामा आज पहिलो पटक भएको कोरा साईक्लिङ्ग च्यालेन्ज सफलतापुर्वक सम्पन्न भएको छ । माई कोरा च्यालेन्ज अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टार बजारस्थित पुष्पलाल चौकबाट शुरु गरी बेल्टार–धप्पर, माडिबास, गंगटे, यस्तै वेलका नगरपालिकाको सुपाडे, चौदण्डीगढी नगरपालिको शनिवारे हुदै वेलका नगरपालिकाको आम्बासी, त्यसैगरी सप्तकोशी नगरपालिकाको फत्तेपुर हुदै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अजगडा, हडिया, ज्यामिरे हुदै बेल्टारस्थित बसपार्कमा पुगेर ५०.५ किलोमिटर लामो यात्रा समापन भएको हो ।
बेल्टार बजारस्थित पुष्पलाल चौकबाट शुरु भएको यात्रालाई नगर प्रमुख कालुमान लामाले रिवन काटेर विदाई गरेका थिए भए सोक्रममा नेवारी परम्परामा रहेर सहभागी साईक्लिस्टहरुलाई अण्डा, भटमास, रक्सी, दही लगायतका सगुन खुवाएर विदाई गरिएको थियो । विदाई कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द थापालगायतको उपस्थिती रहेको थियो । साइक्लिङ्गलाई खेलको रुपमा विकास गर्ने, साईक्लिङ संस्कृतिको प्रवर्धन गर्ने, स्वास्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज आयोजना गरिएको चौदण्डीगढी साईकल सिटीका अध्यक्ष अनिल पौडेलले जानकारी दिएका छन् । यात्राको क्रममा आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्ने तथा साईक्लिङ्ग यात्रीहरुबाट स्वेच्छिकरुपमा आर्थिक संकलनगरी सामाजिक कार्यमा सहयोग गरिने पनि अध्यक्ष पौडेलले जानकारी दिएका छन् । उनले च्यालेन्जमा पुर्व नगर प्रमुख खगेन्द्र राई, वडा नम्बर ४ का वण अध्यक्ष लुङ्गराज राई लगायत सामाजिक अगुवा तथा बुद्धिजीवीहरुगरी ३० जनाको सहभागिता रहेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । उनले पहिलो पटकको प्रयास सफल भएको जानकारी दिदै साईक्लिङ्गका अन्य गतिबिधीहरु पनि संचालन गरिने बताएका छन् ।
पछिल्लो समय चौदण्डीगढी नगरपालिका क्षेत्रका युवायुवतीहरुमा पनि साईक्लिङ्गप्रति आकर्षण बढ्दै गएको छ भने उनीहरु समुह बनाएर सामाजिक कार्यमा समेत सहभागी हुदै आएका छन् । साईक्लिङ्गले स्वस्थ्य जीवनशैली अपनाउन, युवायुवतीहरुलाई लागुऔषधको कुलतबाट टाढा राख्न र समाजप्रति जिम्मेदार बनाउन भुमिका खेल्ने बिश्वास गरिएको छ ।


