मध्यावधी कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्ने चौदण्डीगढी देशमै सम्भवतः पहिलो पालिका भएको नगर प्रमुख लामाको दावी ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्थानीय तहको निर्वाचनबाट नगर प्रमुख कालुमान लामाको नेतृत्वमा निर्वाचित स्थानीय सरकारको मध्यावधी कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख लामाले आफु नेतृत्वको सरकारले गरेको मध्यावधी कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । नगर प्रमुख लामाले चौदण्डीगढी नगरपालिका देशमै सम्भवतः मध्यावधी कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पहिलो पालिका भएको दावी गरेका थिए । गाँउको विकास र बजारको ब्यबस्थापन भन्ने मुख्य नारा लिएर २०७९ सालको स्थानीय ताह निर्वाचनमा चौदण्डीगढी नगरपालिकामा कालुमान लामाको नेतृत्वमा नेकपा एमालेले दुई तिहाई स्थानमा विजयी भएको थियो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगर सरकारले सम्पन्न गरेका विकास योजनाहरुको जानकारी दिन, योजनाहरुबाट प्राप्त उपलब्धीहरुको बारेमा जानकारी दिन, क्षेत्रगतरुपमा भएका कमी कमजोरीहरु पत्ता लगाउन र स्थानीय सरकारको बाँकी कार्याकाललाई थप ब्यबस्थित, परिणाममुखी र उपलब्धीमुलक बनाउने उदेश्यले मध्यावधी समिक्षा गरिएको बताएका थिए । उनले नगरपालिकाको अगुवाईमा योजना तर्जुमा गर्ने, नागरिकका आकांक्षा एवम् गाँउठाउँ र बस्तीहरुको सम्भावना तथा आबश्यक्ताका आधारमा विकासका योजनाको पहिचान, क्रियाकलाप निर्धारण एवम् श्रोत साधनको विनियोजन गर्ने , उत्प्रेरणा जगाउने, विश्वास दिलाउने र विकास न्याय स्थापित गर्ने कार्यमा नगरपालिका लागि रहेको बताएका थिए । भौतिक पुर्वाधार, सडक निमार्ण, शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, सिंचाईं, क्षमता विकास, विभिन्न जातजातीको कला संस्कृती संरक्षण लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेख्य कार्य गरेको प्रतिवेलनमा उल्लेख छ ।

नगरपालिकाले मध्यावधी समयाबधीमा झण्डै १४ किलोमिटर सडक कालोपत्रे गरेको, चालु आर्थिक बर्षमा थप ६ किलोमिटर सडक कालोपत्रे हुने जनाइएको छ । यस्तै यस अबधीमा ३४ किलोमिटर सडक ग्राभेल गरिएको, २० किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको , १ सय ११ किलोमिटर सडक मर्मत , २ सय मिटर सडक ढलान गरिएको बताइएको छ । त्यस्तै ५ वटा ट्रस पुल, ६ वटा पक्की पुल, १७ वटा आरसिसि कल्भर्ट निमार्ण, २ वटा झुलुङ्गेपसल निमार्ण सम्पन्न भएको, बेल्टार बजार, शनिवारे बजार, सिवाई बजार, बर्खेडाडाँ , हडिया बजारमा ईन्टरगल ईटा ओछ्याइएको, त्यस्तै १५ शैयाको आधारभुत नगर अस्पतालको निमार्ण तिव्र पारिएको , वडा नम्बर ४ र ९ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निमार्ण सम्पन्न गरिएको , वडा नम्बर २, ४ र ८ मा वडा कार्यालय भवन निमार्ण गरिएको लगायतका कामहरुको फेहरिस्त प्रस्तुत गरिएको छ ।

यस बाहेक नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषी, सिचाई, अपाङ्गता, महिला तथा बालविकासका क्षेत्रमा गरेका कामहरु प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नगरपालिकाले यस अबधीमा नगरपालिकाले बिभिन्न ब्यक्ति संघसंस्था लगायतका गरेको सहयोगको विवरण समेत प्रतिवेदनमा समाबेश गरिएको छ ।