चौदण्डीगढीमा संचालित राष्ट्रिय परिचय पत्र दर्ता शिविरबाट १३ सय जना भन्दा बढी सेवाग्राही लाभाम्बित ।

२४ श्रावण २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकामा संचालित राष्ट्रिय परिचय पत्र दर्ता शिविरबाट १३ सय जना भन्दा बढी सेवाग्राही लाभाम्बित भएका छन् । गत असार ३१ गते देखी बेल्टार बजारस्थित नगरपालिकाको कार्यालयमा संचालित शिविरबाट श्रावण २३ गतेसम्म १३ सय ६ जनाले सुबिधा लिएको चौदण्डीगढी नगरपालिकाका कर्मचारी तथा फारम आबेदन रुजु गर्ने अधिकारी पुष्पराज सापकोटाले जानकारी दिएका छन् । सुबिधा लिनेमा पुरुष ५८६ जना र महिला ७२० जना रहेका छन् । सापकोटाका अनुसार नगरपालिकाले नगरको १० वटै वडालाई दिन छुट्टयाएर फारम भर्ने ब्यबस्था गरेपछि सेवाग्राहीले सहजरुपमा फारम भर्न पाएका छन् । नेपाल सरकारले यहि श्रावण १ गतेदेखी सामाजिक सुरक्षा भत्ता लगायतका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने बताएपछि ज्येष्ठ नागरिक, भत्ता प्राप्त गर्ने सेवाग्राहीहरु सदरमुकाम गाईघाटमा गएर परिचय पत्र बनाउनुपर्ने बाध्यता रहेकोमा चौदण्डीगढी नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय उदयपुरसंग सहकार्य गर्दै नगरमा नै फारम भर्ने ब्यबस्था भएपछि फारम भर्नेको भिड लागेको छ । दैनिक ८० जनाभन्दा बढी सेवाग्राहीको अनुहार, आँखा र हातका पञ्जासहितको बायोमेट्रिक पहिचानसहितको अनलाईन फारम भर्ने कार्य भैरहेको आबेदन रुजु गर्ने अधिकारी पुष्पराज सापकोटाले बताएका छन् । उनले गत बर्ष यसअघि जिल्ला प्रशासन कार्यालय उदयपुरबाट आएको टोलीको समयमा फारम भर्ने धेरै नगरबासीको रेकर्ड फेला नपरेको हुनाले अहिले समस्या भएको बताएका छन् । रेकर्ड फेला नपरेकाहरुको राष्ट्रिय परिचय पत्र दर्ता फारम फेरी अनलाईनबाट भरेर परिचय पत्र नम्बर प्रदान गरिएको र यसअघि राष्ट्रिय परिचय पत्र दर्ता फारम भरेका तर राष्ट्रिय परिचय पत्र नम्बर नपाएकाहरुलाई राष्ट्रिय परिचय पत्र नम्बरको विवरण प्रदान गरिएको जानकारी दिएका छन् । शिविर नगरपालिकामा भदौ ५ गतेसम्म संचालन हुने भएकोले राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नगरेकाहरुलाई राष्ट्रिय परिचय पत्र नम्बर लिन तथा नयाँ दर्ता गर्नुपर्ने भएमा आबश्यक कागजातसहित नगरपालिकामा आई राष्ट्रिय परिचय पत्र दर्ता फारम अनलाईनमार्फत भर्न चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आग्रह गरेका छन् । अहिलेलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र चाहिने ब्यबस्था अनिवार्य नभएता पनि भविष्यमा सरकारी सेवासुबिधा प्राप्त गर्न राष्ट्रि परिचय पत्र आबश्यक पर्ने भएकोले नगरपालिकामा शिविर संचालनमा रहेकोले अहिले नै सुविधा लिन उनले आग्रह गरेका छन् । पटक पटक जिल्लाबाट टोली बोलाएर शिविर संचालन गर्न नसकिने भएको हुनाले अहिले नै सुबिधा लिदा समय र पैसाको बचत हुने नगर प्रमुख लामाको भनाई छ ।