सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि लाभग्राहीहरुले बायोमेट्रिक भेरिफिकेशन गराउनुपर्ने ।

३१ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि लाभग्राहीहरुले अनिवार्यरुपमा बायोमेट्रिक भेरिफिकेशन गराउनुपर्ने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज एक सुचना जारी गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले पठाएको पत्र अनुसार आगामी श्रावण १ गतेदेखी नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता गर्ने लाभग्राहीको नविकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचय पत्रमा आधारित बायोमेट्रिक भेरिफिकेशन अनिर्वाय गरिने भएकोले बायोमेट्रिक भेरिफिकेशन गर्न आग्रह गरेको छ ।

साथै राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सामाजिक सुरक्षा भत्ता गर्ने लाभग्राहीलाई जिल्ला प्रशासन कार्यालय गाईघाटमा गएर राष्ट्रिय परिचय पत्र बनाउन र यस अघिनै राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गराई बायोमेट्रिक गराईसकेका लाभग्राहीहरुलाई राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएको भए राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण शाखाको अनलाईन प्रोटलमा गई लिंक मार्फत नम्बर प्राप्त गर्न सकिने जनाएको छ । यस्तै थप जानकारीको लागि नगरपालिकाको आई एम एस शाखामा सम्पर्क गर्न पनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले आग्रह गरेका छन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले गत बैशाख २४ गते एक पत्र पठाई सामाजिक सुरक्षा भत्ता गर्ने लाभग्राहीको नविकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचय पत्रमा आधारित बायोमेट्रिक भेरिफिकेशन अनिर्वाय गरिएको जानकारी गराएको थियो ।सरकारले ६८ बर्षमाथीको जेष्ठ नागरिक, ६० बर्षमाथीका दलित जेष्ठ नागरिक, एकल महिला, बिधुवा, अपाङता भएका ब्यक्ति, ५ बर्षभन्दा कम उमेरका दलित बालबालिका र लोपोन्मुख आदिबासी जनजातीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आईरहेको छ ।