३० बैशाख २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित आधारभुत नगर अस्पताल बेल्टारमा सामान्य प्रकारका अपरेशन पनि गर्न सकिने भएको छ । केही दिन अघि मात्र अस्पतालमा विरामीको स्वास्थ्य परिक्षण गर्न अटोम्याटिक ल्याव सिस्टम जडान गरिएपछि अबदेखी सामान्य प्रकारका अपरेशन पनि गर्न सकिने अस्पतालका प्रमुख डाक्टर अमृत कर्णले जानकारी दिएका छन् ।
अस्पतालको सेवा प्रति आम जनतालाई विश्वास होस् एवंम धरान, विराटनगर जस्ता शहरका महंगा अस्पतालमा सामान्य प्रकारका रोगको उपचार गर्न जानको सट्टामा नगरकै अस्पतालमा त्यसअनुरुपको सेवासुबिधा रहेको जानकारी दिने उदेश्यले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमानले आज आफ्नो शरीरको बिभिन्न भागमा बोसो जमेर हुने गिर्खाहरु, लाईपोमा नामक रोगको अपरेशन आधारभुत अस्पताल बेल्टारमा नै गराएका छन् । नगर प्रमुख लामाको शरिरको दुबै हातको १८ स्थानमा रहेको गाठागुठीहरुको सफल अपरेशन डा. अमृत कर्णको टिमले गरेको छ । आज अपरेशन गराउदै नगर प्रमुख लामाले आफुले चाहेको भए देश बिदेशको सुबिधा सम्पन्न अस्पतालमा गएर पनि उपचार गराउन सक्ने भएपनि यस्ता किसिमका सामान्य रोगहरुको उपचार आधारभुत नगर अस्पताल बेल्टार मै हुने भएकोले आम जनतामा जानकारी होस् भन्ने उदेश्यले नगर अस्पतालमा आफ्नो अपरेशन गराएको बताएका छन् । उनले यसले सामान्य रोगहरुको उपचारका लागि ठुला शहरको अस्पतालमा गएर समय र पैसा खर्च गर्ने प्रबृतीको अन्तय हुने बिश्वास पनि ब्यक्त गरेका छन् ।
नगर अस्पतालका प्रमुख डा. कर्णले पनि नगर अस्पतालमा सुबिधा सम्पन्न ल्याव रहेको तथा शरिरमा बोसो जमेर हुने गिर्खाहरु लाईपोमा , डण्डीफोर बिग्रेर हुने सियासाईटिस लगायतका रोगहरुको अपरेशन पनि हुने बताएका छन् । उनले विरामीको अबस्था हेरेर सामान्य प्रकारका अपरेशन अब नगर अस्पताल बेल्टार मै गर्न सकिने जानकारी दिएका छन् । केही दिनअघि मात्र नगर अस्पताल बेल्टारमा अत्याधुनिक ल्याव मेशिन जडान गरिनुको साथै छुट्टै ईमेरजन्सी वार्डको ब्यबस्था गरिएको थियो । जसले गर्दा अस्पतालमा सुगरको विरामीको ३ महिने रिपोर्ट दिने HbA1c, थाईराईड, कलेजो, मृगौला लगायतको परिक्षण न्युन शुल्कमा हुन थालेको छ भने अस्पतालको सेवा सुबिधा थप ब्यबस्थित बनेको छ ।