चौदण्डीगढीमा संचालित थप १० वटा बिद्यालयहरुको तह घटुवा , मर्ज तथा खारेजी ।

६ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित थप १० वटा बिद्यालयहरुको तह घटुवा, बिद्यालय मर्ज तथा खारेजी गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले बिधार्थी संख्या कम भएको, शिक्षक बिद्यार्थी अनुपात नमिलेको बिद्यालयहरुको तह घटुवा, मर्ज तथा खारेजी गरेको हो । खारेजी भएका बिद्यालयहरुमा अधिकांश बालविकास तहका बिद्यालयहरु रहेका छन् ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर १ स्थित वालविकास केन्द्र तुर्लुङ्गटार, वालविकास केन्द्र सालघारी, वडा नम्बर ८ स्थित शिखर आधारभुत बिद्यालय शिखपुरमा संचालित वालविकास केन्द्र बन्द गर्ने निर्णय गरेको छ । एता वाल विकास केन्द्रसम्मको मात्र पढाई हुने वडा नम्बर ९ हात्तिसार हडियास्थित राजाजी आधारभुत बिद्यालयलाई जनता मावि हडियामा र वडा नम्बर १० डाँडाटोलस्थित नमुना आधारभुत बिद्यालयलाई शिद्धेश्वरी मावि मुसहर्नीयामा गाभ्ने निर्णय गरेको छ । यस्तै यसअघि कक्षा ३ सम्म संचालित आधारभुत बिद्यालयहरु वडा नम्बर २ सुघारेस्थित रक्तमाला आधारभुत बिद्यालय, वडा नम्बर ३ हात्तिसारस्थित वेलका आधारभुत बिद्यालय र वदेलपारीस्थित वालज्योती आधारभुत बिद्यालयको तह घटुवागरी वालविकास केन्द्रमा झारेको छ । त्यस्तै वडा नम्बर ४ सावलीटोलस्थित कक्षा ५ सम्म संचालित जनसेवा आधारभुत बिद्यालयको पनि तह घटुुवा गर्दै वालविकास केन्द्रमा झारेको छ भने वडा नम्बर ५ सिवाईस्थित मावी सिवाईमा रहेको नगरपालिकाको वालविकास केन्द्र कोटा कट्टी गरेको छ । यसअघि वडा नम्बर ५ स्थित कोकण आधारभुत बिद्यालय ढेलाचौरी, वडा नम्बर १० देवधारस्थित भिमसेन आधारभुत बिद्यालय, वडा नम्बर ४ अमलचौरीस्थित जनज्योति आधारभुत बिद्यालय, वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालय र वडा नम्बर ३ भोर्लेनीस्थित सगरमाथा माध्यमिक बिद्यालयको तह घटुवा गर्ने चर्चा रहेकोमा अन्तिम समयमा यि विद्यालयहरु यथास्थितीमा राख्ने निर्णय भएको नगर शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुवँरले जानकारी दिएका छन् ।

नगरपालिकाले गत बर्ष शैक्षिक शत्र २०७९ मा पनि नगरमा संचालित ९ वटा बिद्यालयहरुको तह घटुवा, शिक्षक सरुवा लगायतको कार्य गरेको थियो । गत बर्ष चैत्र २२ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकलले आबश्यक्ता र औचित्यको आधारमा दरवन्दी मिलान, बिद्यालय समायोजन, तह तथा कक्षा घटुवा, बिद्यालय गाभ्ने, बिषयगत कक्षागत र न्युन्तम बिद्यार्थी शिक्षक अनुपात कायम गर्ने भन्दै बिद्यालयहरुको तह घटुवा र शिक्षकहरुको आन्तरिक सरुवा गरेको थियो । नगर शिक्षा समितिको बैठकले यस बर्ष पनि सोही आधारहरु देखाउदै बिद्यालय बन्द, तह घटुवा, बिद्यालय मर्ज लगायतको कार्य गरेको जनाएको छ । यस्तै नगरपालिकाको श्रोतले शिक्षकहरुको आन्तरिक सरुवा पनि गर्ने जनाएको छ ।