चौदण्डीगढी नगरपालिकाले ढेलाचौरीमा डम्पिङ्ग साईट निमार्ण गर्ने / सरसफाई शुल्क उठाउने सर्वदलिय निर्णय।

४ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाले नगरमा संकलन हुने फोहोर मैला ब्यबस्थापनको लागि ढेलाचौरीमा डम्पिङ्ग साईट निमार्ण गर्ने भएको छ । आज नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरमा क्रियाशिल दलहरुको सर्वदलिय बैठकले नगरको फोहर ब्यबस्थापनको लागि वडा नम्बर ६ मा संचालित ज्योति माध्यमिक विद्यालय बेल्टारको नाममा रहेको वडा नम्बर ५ ढेलाचौरीस्थित त्रियुगा नदी उकास जग्गामा डम्पिङ्ग साईट निमार्ण गरी फोहर ब्यबस्थापन गर्ने निर्णय गरेको हो । ढेलाचौरीमा बिद्यालयको नाममा रहेको २३ बिगाहा जग्गामध्ये ४ विगाहा जग्गा ५ बर्षको लागि बार्षिक एक लाख रुपैयाँ भाडा बिद्यालयलाई उपलब्ध गराउने गरी लिजमा लिने र ५ बर्षपछि उक्त बार्षिक भाडामा १० प्रतिशत रकम थप गरी अर्को ५ बर्षको लागि समेत उक्त जग्गाको लिजलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै उक्त ४ बिगाहा जग्गालाई नगरपालिकाले उपयुक्त किसिमको घेराबेरा गरी कसैलाई असर नपर्ने गरी नगरपालिका क्षेत्रमा संकलन हुने फोहर ब्यबस्थापनको लागि प्रयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ । साथै बिद्यालयसंग सम्झौताको प्रक्रिया तत्काल अगाडी बढाउने निर्णय गर्दै बैठकले आजको निर्णय अनुमोदनको लागि नगर कार्यपालिका बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आज बसेको सर्वदलिय बैठकले नगरपालिकाको फोहर ब्यबस्थापनलाई प्रभावकारी बनाउन नगरको बजार क्षेत्रका सबै घरधुरीबाट सरसफाई शुल्क संकलन गर्नेगरी नगरपालिकाको १४ औं नगर सभाबाट पारित सरसफाई शुल्लको दररेट अनुसारको सरसफाई शुल्क उठाउने निर्णय पनि सर्वसम्मतीमा गरेको छ । त्यस्तै आगामी दिनमा बजारको फोहरलाई ब्यबस्थित गर्न फोहरको वर्गिकरण गर्ने र छुट्टछुट्टै डस्टविनमा राख्ने गरी बजारमा डस्टविन राख्ने ब्यबस्था मिलाउने निर्णय पनि गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको बैठकमा नगर उप प्रमुख मणिकादेवी दुलाल, नगर प्रवक्ता प्रकाश राउत, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमाले उदयपुर जिल्ला कमिटी सदस्य श्याम बहादुर राई, नेकपा एमाले नगर कमिटीका कार्यबहाक अध्यक्ष कृष्ण खत्री, रास्वपाका नगर सभापति रमेश बिष्ट, नेकपा माओवादी केन्द्रकी नगर उपाध्यक्ष हिरा थापा लगायतको उपस्थिती रहेको थियो ।
यसअघि नगरपालिकाले केही बर्षअघिदेखी नगरको बेल्टार बजार क्षेत्रको फोहर फाल्दै आएको वडा नम्बर ६ आँपखहरे सामुदायिक वन समुहको स शस्त्र प्रहरी क्याम्प पछाडीको वन क्षेत्रमा स्थानीयले फोहर फाल्न रोक लगाएपछि बेल्टार बजारको फोहर विगत चार महिनादेखी उठ्न सकिरहेको छैन । आजको सर्वदलिय बैठकबाट फोहर मैला ब्यबस्थापनको बिषयमा नगरमा क्रियाशिल दलहरु एक ठाँउमा आएका छन् ।