संबिधानमा रहेको अधिकारलाई खारेज गर्ने षडयन्त्र भैरहेको छ। :प्रदेश सांसद राजन किराँती

३ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

संबिधानमा रहेको अधिकारलाई खारेज गर्ने षडयन्त्र भैरहेकोे कोशी प्रदेशका सांसद राजन किराँतीले बताएका छन् । आज उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ हात्तिसारस्थित प्रधान टोलमा समुद्घाटन तथा जग्गा दातालाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका सांसद किराँतीले बिभिन्न प्रकारका भ्रामक प्रचारबाजी गरेर संबिधानमा रहेको जनताको अधिकार खोस्ने षडयन्त्र भै रहेको बताएका हुन् । तर किराँतीले कस्ले यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख गरेनन् ।

यस्तै कार्यक्रमलाई सम्बाधेन गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरको समृद्धीका लागि नगरमा क्रियाशिल सबै राजनीतिक दलहरु एक ठाँउमा रहेको बताउदै सबै दलको सहमतिमा बिकास निमार्णका कामहरुलाई अगाडी बढाइएको बताएका छन् । वडा नम्बर ३ बिरेन्द्र चौकमा बिद्युतको सव स्टेशन बनाउनका लागि जग्गा प्राप्तीको काम सकिएको र १७ करोडको लागतमा सव स्टेशन निमार्ण गर्ने चरणमा पुगेको जानकारी उनले दिएका छन् । यस्तै नगर प्रमुख लामाले नगरपालिकाले नगरको शिक्षाको सुधारका लागि विगत बर्षदेखी नै काम गरिरहेको बताउदै यस बर्ष पनि सामुदायिक बिद्यालयको तह घटुवा, बिद्यालयहरुको मर्जर तथा शिक्षक कर्मचारीको सरुवा लगायतको प्रक्रिया अगाडी बढाइएको जानकारी दिएका छन् । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका पुर्व नगर प्रमुख खगेन्द्र राईले संबिधानले टोल बिकास समितिहरुलाई महत्वपुर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै टोल बिकास समितिहरु जिम्मेवार हुनुपर्ने बताएका थिए । राईले अहिलेको संबिधानले टोल बिकास समितिहरुलाई आफ्नो गाँउ टोलमा कस्तो किसिमको बिकासका योजना चाहिएको हो त्यसको छनौट गर्ने जिम्मेबारी पनि दिएको हुनाले योजना छनौट, उपभोक्ता समिति निमार्ण तथा श्रमदान लगायतका काम टोल बिकास समितिले गर्न सकिने बताएका थिए ।

कार्यक्रममा जग्गादाता पुर्व बसहा गाँउ पंचायतका प्रधानपञ्च स्वर्गीय पर्शुराम राईको परिवारलाई सम्मान समेत गरिएको थियो भने प्रदेश सांसद राजन किराँती, नगर प्रमुख कालुमान लामा र पुर्व नगर प्रमुख खगेन्द्र राईले प्रधान टोलमा निमार्ण गरिएको स्वर्गीय पर्शुराम राईको शालिक अनावरण गर्नुका साथै बिद्युत भोलटेज सुधार अन्तर्गत ट्रान्सफर्मर जडान र खोप केन्द्र भवनको संयुक्तरुपमा उद्घाटन समेत गरेका थिए । स्वर्गीय पर्शुराम राई परिवारले १८ धुर जग्गा निः शुल्क प्रदान गरेको थियो । यस्तै २०७६ साल फागुन ३० गते निमार्ण सम्पन्न भै र २०७७ साल आसाढ १५ गते नगरपालिकाको ३ लाख ५० हजार रुपैयाँ, जनश्रमदान ४५ हजार २०५ रुपैयाँ गरी जम्मा ३ लाख ८४ हजार ७०५ रुपैयाँमा सम्पन्न भएको खोप केन्द्र भवनको आज बिधिवत उद्घाटन भएको छ । पुर्व नगर प्रमुख खगेन्द्र राईको पालामै निमार्ण भएर संचालनमा रहेको खोप केन्द्रको उद्घाटन आज गरिएको हो । कार्यक्रमलाई वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राई, नारद आदर्श शिक्षाक्याम्पसका पुर्व अध्यक्ष सुर्य कुमार राई लगायतले पनि सम्बोधन गरेका थिए ।