थारु भाषा, संस्कृतीको संरक्षणका लागि चौदण्डीगढीमा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न ।

१ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

थारु भाषा, संस्कृतीको संरक्षण गर्ने उदेश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न भएको छ । थारु संस्कृती संरक्षण संघ नेपाल चौदण्डीगढी नगर समिति र उदयपुर जिल्ला समितिको संयुक्त आयोजनामा वडा नम्बर ९ ज्यामिरेस्थित थानपोखरीमा कार्यक्रम आयोजना गरिएको थियो । थारु कला संस्कृती, भाषा, भेषभुषा, आफ्नो पहिचान संरक्षण सम्बद्र्धनका लागि थारु संस्कृती संघको अभियान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । थारु कलयाणकारी सभा उदयपुरका पुर्व जिल्ला सभापति तथा त्रियुगा नगरपालिकाका पुर्व मेयर बलदेब चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थारु पौराणिक गीत तथा नृत्यको प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बलदेव चौधरीले बिभिन्न कारणले थारु समुदाय पछाडी परेको बताउदै समुदायको गतिविधीलाई सक्रियतापुर्वक अगाडी बढाउनुपर्ने बताएका थिए । उनले थारु कल्याणकारी सभा सुस्त गतिमा हिडिरहेकोले त्यसलाई तिव्र गतिमा अगाडी बढाउनुपर्ने आबश्यकता रहेको जनाएका थिए । उनले ज्यामिरेस्थित मन्दिरको संरक्षणका लागि डिपिआर बनाएरै थानपोखरी मन्दिरको संरक्षण गर्न सकिने र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । थारुहरु पनि संसारभर फैलिएकोले उनीहरुबाट समेत आर्थिक सहयोग प्राप्त गर्न सकिने चौधरीको भनाई थियो । थारु कला , संस्कृतीको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता चौधरीले ब्यक्त गरेका थिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै थारु संस्कृती संरक्षण संघका उदयपुर जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले अरुको भाषा संस्कृतीको नक्कल गर्ने बानीले थारुहरुको भाषा, संस्कृती लोप हुने अबस्थामा पुगेको बताएका थिए । उनले थारुहरुको भाषा र संस्कृतीमा आक्रमण भएको जनाउदै यसअघि थारु भाषामा रहेको ठाँउहरुको नाम समेत परिवर्तण हुँदा समेत सहेर बस्नुपर्ने अबस्था रहेको बताएका थिए । थारुहरुको जमैरियालाई अपभ्रंश गरेर ज्यामिरे बनाएको बताउदै यस्ले थारुहरुको भाषामाथी आक्रमण भएको उनको भनाई थियो । कार्यक्रममा पौराणिक थारु गीत तथा नृत्य प्रतियोगिता समेत संचालन गरिएको थियो । जसमा १६ वटा समुहको सहभागिता रहेको थियो ।