बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि ट्राफिक ब्यबस्थापनमा ब्यापारीको प्रहरीलाई सहयोग ।

३० चैत्र २०८०, सन्तोष कुमार रौनियार…

बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि उदयपुरको बेल्टार बजारका ब्यापारी ब्यबसायीले ट्राफिक ब्यबस्थापनमा प्रहरीलाई सहयोग गरेका छन् । चौदण्डीगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारको ट्राफिक ब्यबस्थापन गरी दुघर्टना न्युनीकरणमा सहयोग पुर्याउने उदेश्यले बेल्टार बजारका ब्यापारी ब्यबससायीले सहयोग गरेका हुन् । पटक पटक चौदण्डीगढी नगर बजार ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जरा तथा अन्य पदाधिकारीहरुलाई सहयोगका लागि आग्रह गर्दा पनि नसुनेपछि ब्यापारी ब्यबसायीले ४९ हजार रुपैयाँ संकलन गरेर बजार क्षेत्रको लाफा चौकदेखी पुष्पलाल चौकसम्म र बेल्टार बसपार्कदेखी वडा नम्बर ६ को राजकुमार खड्काको घरसम्मको कालेपत्रे मुल सडकमा क्याट आई राख्न सहयोग गरेका हुन् ।

आज १०० थान क्याट आई सडकमा बिछ्याइएको र थप ५० थान क्याट आई खरिद गरी वडा नम्बर ७ को लाटी खोलाको घुम्ती सडकमा राख्ने योजना रहेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक ओम प्रकाश पुनले जानकारी दिएका छन् । सडकमा यातायातका साधनले आफ्नो लेनमा सवारी चलाउन सहज होस् भन्ने उदेश्यले रातीको समयमा पनि देखिने क्याट आई सडकको दायाँबायाँ र बिचमा ओछ्याईएको पुनले बताएका छन् । प्रत्येक दिन जसो नागरिकसंग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रचनात्मक कार्य गरीरहेको ईलाका प्रहरी कार्यालयले पछिल्लो समयमा नगरको ट्राफिक ब्यबस्थापनमा जोड दिएको छ ।

यसअघि पनि प्रहरी निरिक्षक पुनको सक्रियतामा स्थानीय युवाहरुको सहयोगमा बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग चौकमा ट्राफिक सचेतनासम्बन्धी जनचेतनामुलक होडिङ्ग बोर्डका साथै सडक लेन पालना गराउन क्याट आई राखिएको थियो भने नारदमुनी चौक र मोति मेमोरियल बोडिङ्ग स्कुलस्थित मदन भण्डारी राजमार्गमा जेव्राक्रसिङ्ग निमार्ण गरिएको थियो । आज बेल्टार बजारको सडकमा ओछ्याइएको क्याट आईका लागि प्रहरी निरिक्षक ओम प्रकाश पुनसहित स्थानीय संचारकर्मी, पत्रकार, समाजसेवी मोतीराम श्रेष्ठ, दिपक खनाल, केशव राई लगायतको सक्रियतामा ब्यापारी ब्यबसायीहरुसंग सहयोग संकलन गरिएको थियो ।