शिक्षा शाखाको निर्णयले चौदण्डीगढीका बिद्यालयहरुलाई राहत !

२८ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा संचालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा निरासाजनक भएपछि नगर शिक्षा समितिले ग्रेड बृद्धीका लागि पुरक परिक्षा संचालन गर्ने भएको छ । नगर शिक्षा समितिको चैत्र २६ गते बसेको बैठकले गत चैत्र ४ गतेदेखी १० गतेसम्म संचालित कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजामा एनजी (नन ग्रेडिङ्ग) आएका बिद्यार्थीहरुलाई यस पटकका लागि मात्र ग्रेड बृद्धी परीक्षामा सहभागी हुने मौका दिने निर्णय गर्दै आगामी बैशाख ३ गतेभित्रमा बिद्यार्थीहरुको विवरण शाखामा उपलब्ध गराउन बिद्यालयहरुलाई आग्रह गरेको छ । नगरपालिकाले गत चैत्र ४ गतेदेखी १० गतेसम्म १४ वटा सेन्टरमा संचालन गरेको कक्षा ८ को परिक्षामा सामुदायिक सरकारी बिद्यालय २९ र संस्थागत बोडिङ्ग स्कुल १३ वटा गरी जम्मा ४२ वटा बिद्यालयका ९८१ जना बिद्यार्थी सहभागी थिए । जसमा संस्थागत बिद्यालयका २०८ जनामध्ये १४९ जना, ७१.६३ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका थिए भने सामुदायिक बिद्यालयका ७७३ जनामध्ये २३२ जना ३०.०१ प्रतिशत बिद्यार्थी मात्र उत्तिर्ण भएका थिए । यस पटक शिक्षा शाखाले परिक्षा समाप्त भए लगतै सम्बन्धित बिषयका शिक्षकलाई बोलाएर उत्तर पुस्तिका परिक्षण गर्न लगाएर उनीहरुले प्राप्त गरेको अंक तत्काल केन्द्रबाट संचालित शिक्षा तथा मानव बिकास श्रोत केन्द्रको अनलाईन सिस्टम (IEMIS) मा ईन्ट्री गर्ने काम गरेको थियो । शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार चैत्र १० गते परीक्षा सकिएकोमा चैत्र १२ गतेसम्ममा सबै परिक्षार्थीको उत्तर पुस्तिका परिक्षण गरी (IEMIS) सिस्टममा अंक ईष्ट्री गर्ने काम सम्पन्न भएको जानकारी दिएका छन् । केही दिन अघि मात्र सम्बन्धित बिद्यालयलाई कक्षा ८ को नतिजा उपलब्ध गराएको शिक्षा शाखाले अधिकांश बिद्यालयको नतिजा सन्तोषजनक नरहेको बताएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षामा नगरको ४२ वटा बिद्यालय सहभागी भएको ८ वटा बिद्यालयबाट एक जना पनि बिद्यार्थी उत्तिर्ण हुन सकेनन् । आधारभुत बिद्यालय गडन्ताबाट १७ जना , बेल्हास्थित आधारभुत बिद्यालयबाट १७ जना, अमलचौरीस्थित जनज्योती आधारभुत बिद्यालयबाट १५ जना, कालिखोलास्थित जनता आदर्श माविबाट ४२ जना , भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयबाट १५ जना, बेल्टार बजारस्थित पञ्चमी आधारभुत बिद्यालयबाट १५ जना, सिद्धिपुरस्थित शारदा आधारभुत बिद्यालयबाट १३ जना र भिमास्थित जन बिकास सेकेण्डरी बिद्यालयबाट ८ जना सहभागी भएकोमा एक जना पनि उत्तिर्ण हुन सकेनन् । यस्तै नगरमा संचालित बसहास्थित बुद्ध निकेतन ईंग्लिस बोडिङ्ग स्कुलबाट ३ जना , अजिङ्गरेस्थित जाल्पा जन सकेण्डरी स्कुलबाट १० जना, सिर्वानीस्थित कालिका माविबाट ३२ जना, बसहास्थित महादेबेश्वर आधारभुत बिद्यालयबाट ११ जना र बसाहा क्षेत्रकै प्रख्यात नारद आदर्श स्कुल४२ जना बिद्यार्थी सहभागी भएकोमा १–१ जना मात्र बिद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै बेल्टार बजारस्थित ज्योती माध्यमिक बिद्यालयबाट १०३ जना सहभागी भएकोमा २२ जना मात्र उत्तिर्ण छन् । यस्तै थानपोखरी मावि ज्यामिरेबाट २४ जना सहभागी भएकोमा ८ जना, श्रीमावी आमसालबाट ३८ जना सहभागी भएकोमा ७ जना, जनता माबि लुङ्गिण्टारबाट ४० जना सहभागी भएकोमा ८ जना , श्रीमावि सिवाईबाट ५१ जना सहभागी भएकोमा ८ जना , सिंहदेवी मावी माडिबासबाट २६ जना बिद्यार्थी सहभागी भएकोमा १२ जना मात्र उत्तिर्ण भएका छन् । अघिल्लो बर्षहरुमा लगभग सत प्रतिशत नतिजा निकाल्दै गरेको संस्थागत बोडिङ्ग स्कुलहरुको नतिजा पनि सन्तोषजनक छैन । नगरकै प्रतिष्ठित सगरमाथा सेकेण्डरी स्कुल बेल्टारबाट ५३ जना सहभागी भएकोमा ३८ जना मात्र उतिर्ण छन् भने पुमा सेकेण्डरी स्कुल बेल्टारबाट ३४ जनामध्ये १८ जना मात्र उतिर्ण छन् । पारुहाङ्ग एकेडेमी बेल्टारबाट सहभागी १९ जनामध्ये १३ जना उतिर्ण छन् । कम बिद्यार्थी संख्या भएका संस्थागत बोडिङ्ग स्कुलहरु भुल्केस्थित मेरिगोल्ड एकेडेमीबाट ९ जना बिद्यार्थी सहभागी भएकोमा ९ जना नै उतीर्ण भएका छन् । , बसहास्थित पवित्रा मेमोरियल बेशिक ईंग्लीस बोडिङ्ग स्कुलबाट १० जना सहभागी भएकोमा ९ जना, माडिबासस्थित न्युटन एकेडेमीबाट ७ जना सहभागी भएकोमा ७ जना नै उतिर्ण भएका छन् । समग्रमा यसपटकको नगर स्तरीय कक्षा ८ को परिक्षाको नतिजामा केही बिद्यालयका सबै परिक्षार्थी फेल भएपछि कक्षा ९ मा पढ्ने बिद्यार्थी नै नहुने देखिएको थियो । तर  चैत्र २६ गते बसेको नगर शिक्षा शाखाको बैठकको निर्णयले नतिजामा केही सुधार हुने देखिएको छ । बिद्यालयहरुले २ बिषयसम्म फेल भएकाहरुका लागि पुरक परीक्षाको माग गरिरहेकोमा नगर शिक्षा शाखाले एनजी ल्याएर अनुत्तिर्ण भएका सबै बिषयमा नै पुरक परीक्षा लिने निर्णय गरेपछि बिद्यालयहलाई राहत मिलेको छ ।