नेकपा एमाले उदयपुरको जिल्ला अध्यक्षमा भागवत राउत निर्वाचित / उपाध्यक्षमा कालुमान लामा १ मत अन्तरले विजयी ।

१५ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

नेकपा एमाले उदयपुरको जिल्ला अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । मतगणनापछि आज साँझ घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार जिल्ला अध्यक्षका उम्मेदवार राउतले ३४४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी निबर्तमान जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गरेका छन् । यस्तै जिल्ला उपाध्यक्ष पदमा निबर्तमान जिल्ला सचिव तथा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा १ मतको अन्तरले निर्वाचित भएका छन् । लामाले १९२ मत ल्याएर निर्वाचित भएका छन् भने उपाध्यक्ष पदका अर्का उम्मेदवार दिल बहादुर तामाङ्गले १९१ र भरत बहादुर थापाले १३७ मत प्राप्त गरेका छन् ।
सचिव पदमा भने निवर्तमान जिल्ला सचिव टेक बहादुर राउतले बाजी मारेका छन् । राउतले १९१ मत ल्याउदै निर्वाचित भएका छन् भने शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत प्राप्त गरेका छन् । त्यस्तै उपसचिवमा हेम खड्काले १९४ मत ल्याएर निर्वाचित भएका छन् । खुल्ला उपसचिवमा ५ जनाको उम्मेदवारी रहेको थियो । जस मध्ये जीवनाथ दाहालले १०८ मत, मन्दिप राइले ९३, दुर्गानन्द चौधरीले ५३ र धर्मबहादुर तामाङले ४६ मत ल्याएका थिए । महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छिन् । राईले २६० मत पाउँदा गीता खड्काले १२५ र महेश्वरी राईले १४९ मत ल्याएका छन् । खड्का कटारी र राई त्रियुगा नगरपालिकाकी उपमेयर हुन् ।
सदस्यहरुतर्फ भने भुगोलबाट जिल्लाका ८ वटा पालिका मध्ये उदयपुरगढी, ताप्ली र रौतामाई गाँउपालिका र कटारी नगरपालिकाबाट सदस्यहरु सर्वसम्मत चयन भएका थिए भने चौदण्डीगढी नगरपालिकाबाट भुगोलबाट कुमारजंग कार्की, डिल्ली बहादुर मगर, प्रकाश राउत क्षेत्री, सन्तोष बस्नेत र श्याम बहादुर राई लगायत विजयी निर्वाचित भएका छन् । त्यस्तै बेल्का नगरपालिकाबाट भुगोलबाट गोविन्द बहादुर खड्का, ढक बहादुर बिष्ट, दिपक दंगाल, बसन्त कुमार मगर र सुरेन्द्र राई लगायत निर्वाचित भएका छन् । यस्तै  सदस्य खुल्लाबाट किशोर ताम्राकार, कुशलबाबु बस्नेत, खगेन्द्र पोखरेल, गजेन्द्र बहादुर खड्का, अमर बहादुर दनुवार र महेश पौडेल लगायत निर्वाचित भएका छन् । अपाङ्ग कोटाबाट लोकेन्द्र बहादुर खड्का, युवाबाट महेश राई, मधेशी , मुस्लीम र पिछडाबर्गबाट शम्भु प्रसाद शर्मा, त्यस्तै आदिबासी जनजाती महिलाबाट मिना कुमारी राई, आदिबासी जनजाती खुल्लाबाट गणेश कुमार दनुवार, टामिन्द्र बहादुर राई र रमाकान्त चौधरी निर्वाचित भएका छन् भने जिल्ला सदस्य दलित खुल्लाबाट कर्ण सुनाम, फुन्दे बिश्वकर्मा दिलिप र भिम परियार निर्वाचित भएका छन् ।यस्तै दलित महिलाबाट पाण्डु परियार निर्वाचित भएका छन् ।

त्रिगुगा नगरपालिकाबाट भुगोलबाट ईश्वर खड्का, किरण पाण्डे, कुमारसिं राउत, कुल बहादुर राउत कृष्ण कुमार भण्डारी, खड्क बहादुर खड्का, त्यस्तै गम्बरसिं बराल, घमानसिंह खत्री, दलबहादुर राउत, नर बहादुर खड्का, पर्शुराम चौधरी, बिष्णु कुमार श्रेष्ठ र सागर नेपाल लगायत निर्वाचित भएका छन् । ९ औं महाधिबेशन अन्तर्गत जिल्ला नेतृत्वको लागि भएको निर्वाचनले पदाधिकारीसहित १०५ सदस्य कमिटी चयन गरेको छ । ६२५ मतदाता रहेकोमा ५८१ मत खसेको थियो ।