१७ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा विशाल कार्यक्रम गर्ने तयारी गरेको छ । शुक्रवार उदयपुरको घुर्र्मीमा पार्टी स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले हर्कपुरमा विशाल जनसभा गर्ने निर्णय गरेकोे हो । बैठकमा पोलिटव्यूरो सदस्य विशाल भट्टराई, नेताहरु यज्ञराज सुनुवार, अम्बिका थापा लगायतका केन्द्रीय नेताहरु र कोशी प्रदेशवाट प्रतिनीधित्व गर्ने स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु यस्तै उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बूका जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैठकले सिन्धुली,उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने हर्कपुरमा खोटाङ, सिन्धुली, सोलखुम्बू , उदयपुर लगायतका जिल्लाबाट पनि व्यापक जनसहभागिता जुटाउने तयारी गरेको छ ।
कार्यक्रममा उदयपुरबाट मात्रै ३ हजार भन्दाबढी नेता तथा कार्यकता सहभागी हुने एमाले उदयपुरका जिल्ला सचिव एवम् पार्टी प्रवक्ता कालुमान लामाले बताएका छन् । कार्यक्रमको तयारीका लागि मंसिर १९ गते बिहान ११ बजे एमाले जिल्ला कमिटीको बैठक राखिएको लामाले जानकारी दिएका छन् । एमालेले हर्कपुरमा मंसिर २६ गते आयोजना हुने जनसभामा १५ हजार जनता भेला गर्ने तयारी गरेको पार्टी पोलिटव्यूरो सदस्य तथा खोटाङका पूर्व साँसद विशाल भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा मध्यपहाडको विकास,समस्या र सम्भावना बारे व्यापक बहस गरिने भट्टराईले जनाएका छन् । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिका लागि संकल्प यात्रा तेह्रौं दिन अर्थात मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ । हर्कपुरमा हुने जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मंसिर १४ गते अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनी गरेका थिए।
एमालेले मेची–महाकाली छिचोल्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा यात्रा गरेर कार्यकर्ता भेट्ने र सुझाव संकलन गर्ने कार्यतालिका बनाएको छ । अभियानका क्रममा पहाडको समस्या के हो, किन पूर्वाधार र उत्पादनमा जोडिन सकेको छैन्, बसाइँसराइँ रोक्दै कसरी पहाडलाई समृद्धिको बाटोमा डो¥याउन सकिन्छ भनेर बुझ्ने उद्देश्य रहेको एमालेले बताएको छ । अभियानले विकास निर्माणका आवश्यकता र चुनौती पहिल्याउने तथा आर्थिक र सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने नेताहरूको भनाइ छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ भने अभियानअन्तर्गत विभिन्न २० स्थानमा कार्यक्रम र सुझाव संकलन गर्ने एमालेले जनाएको छ ।
यसअघि एमालले २०७३ साल फागुन महिनामा पनि १५ दिने मेची–महाकाली अभियान चलाएको थियो । संविधान जारी भइसकेको त्यस समयमा एमालेले संविधान कार्यान्वयन, सामाजिक सद्भाव बढाउने र राष्ट्रिय एकता मूल उद्देश्य राखेको थियो ।