राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले स्लो बाईक राईड प्रतियोगिताको आयोजन गर्ने ।

२१ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर….

राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले ” स्लो बाईक राईड प्रतियोगिता ” को आयोजन गर्ने भएको छ । उदयपुरको बेल्टार बजारस्थित नेकपा एमाले पार्टी कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश युवा परिषद बिज्ञ प्रमुख दिनेश खड्काले युवाहरु लागु औषध दुब्र्यसनीमा फसिरहेको र तिव्र गतिमा सवारी साधन चलाउनाले सडक दुर्घटना बढिरहेकोले युवाहरुमा त्यसप्रति सकरात्मक सन्देश जाओस् भन्ने उदेश्यले ” स्लो ड्राईभ लंग लाईफ ” नाराको साथ सृजनशिल कार्यको रुपमा युवा संघ नेपालले कायक्रम आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला कमिटी सचिव अनुपराज खत्रीले ” गतिसंग होईन सुरक्षासंग प्रतिस्पर्धा गरौ ” भन्ने सन्देश दिन युवा संघको केन्द्रीय कमिटीको अभियान अन्तर्गत चौदण्डीगढीमा स्लो बाईक राईड कम्पिटिशनको आयोजन गर्न लागेको बताएका छन् । उदयपुरमा यस्तो प्रतियोगिता पहिलो पटक संचालन हुन लागेको खत्रीको भनाई छ । उनले प्रतियोगिताको नियमबारे जानकारी दिदै प्रतिस्पर्धामा सहभागी हुन वाईक चालकको ब्यक्तिगत सवारी चालक अनुमति पत्र हुनुपर्ने, बाईक, हेलमेट र जुत्ता चालकले आफै ब्यबस्थापन गर्नुपर्ने, खेलमा चोटपटक लागेमा चालक आफै जवाफदेही हुनुपर्ने, त्यस्तै खेलमा विवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुने बताएका छन् । यस्तै खत्रीले विजेताले १० हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा उप विजेताले ५ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जानकारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीका अध्यक्ष भुवन राईले प्रतियोगिता आगामी कार्तिक २६ गते आईतवार वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आयोजना गरिने तथा प्रतियोगितामा सहभागी हुन ५ सय रुपैयाँ शुल्क राखिएको बताएका छन् । साथै प्रतियोगीतालाई प्रायोजन गर्न चाहनेहरुलाई युवा संघ नगर कमिटीका पदाधिकारीसंग सम्पर्क राख्न पनि आग्रह गरेका छन् । प्रतियोगिताको उप विजेताको प्रायोजन भने वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।