चौदण्डीगढी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

२९ असोज , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

वडा दशै, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अबसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभा हलमा आज आयोजित कार्यक्रममा नगरमा क्रियाशिल राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, बुद्धिजीवी, ब्यापारी , ब्यबसायी, जनप्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले सद्भाव, सहकार्यका लागि पुर्खाहरुले चाडपर्वहरुको बिकास गरेको हुनसक्ने बताउदै नगरपालिकाले पनि नगरमा सबै पक्षसंग सहकार्य गर्ने उदेश्यले संदेशनात्मक कार्यक्रमको रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको शुरुवात गरिएको बताएका छन् । प्रतिस्पर्धा चुनावको समयमा भएता पनि अन्य समयमा सहकार्यमा नै जोड दिनुपर्ने बताउदै नगर प्रमुख लामाले आफ्नो कमी कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यस्तै नगर प्रमुख लामाले चाडवाडको समयमा गाँउघरमा बाहिरबाट अपरिचित ब्यक्तिहरु पनि आउने भएको हुनाले शान्ति सुरक्षामा जनप्रतिनीधि र सामाजिक अगुवाहरुलाई सुरक्षा निकायलाई सहयोग पुर्याउन पनि आग्रह गरेका छन् ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले दशै पर्व असत्यमाथी सत्यको विजयीको प्रतिकको रुपमा रहेकोले चाडपर्वहरु सकरात्मक सोचका साथ विकास भएको र त्यसले मानव जातीलाई एक आपसमा जोड्ने भएकोले जसले जसरी ब्याख्या गरेपनि दशै नेपालीहरुको महान चाड रहेको बताएका थिए । हाम्रो सांस्कृतिक धरोहरको रुपमा रहेको चाडपर्वको बारेमा अपब्याख्या गरिएकोले हामीले दुःख पाइरहेको उनको भनाई थियो । उनले विबिधताले भरिएको देशमा मात्र बाह्य पर्यटक धेरै आउने बताउदै हाम्रो चाडपर्वलाई जोगाउनु पर्नेमा जोड दिएका थिए । यस्तै नेकपा एमालेका नगर उपाध्यक्ष कृष्ण खत्रीले दशै तिहारको बेलामा दुघर्टना तथा अपराधिक गतिविधी बढ्ने भएकोले सुरक्षाकर्मीहरु त्यसमा चनाखो हुनुपर्ने बताएका थिए भने नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राईले नगरमा असम्झदारीले द्धन्द सृजना गरिरहेको बताउदै समृद्ध नगर र सुखी नगरबासी बनाउने कार्यमा एक जुट भएर लाग्नुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन, समाजसेवी जनक कार्की, शिक्षकहरु मनोज कुमार झा, दिनेश ढुंगाना, रित कुमार मगर, त्यस्तै ब्यबसायी पर्शुराम थापा, युवा संघका केन्द्रिय कोषाध्यक्ष राकेश राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा दलित मुसहर समुदायका कप्लेश्वर सदालाई बिशेष अतिथीको रुपमा आमन्त्रण गरिएको थियो ।