जिप्रका उदयपुरको आयोजनामा चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा आज चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथित्वमा भएको कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नागरिक अगुवा, समाजसेवी, राजनीतिक दलका प्रतिनीधि, संचरकर्मी, पत्रकार, ब्यापारी, ब्यबसायी, बुद्धिजीवी लगायत सरोकारवालाहरुको उपस्थितीमा नगरको शान्ति सुरक्षाको बिषयमा छलफल भएको थियो ।

उदयपुरका प्रहरी नायव उपरिक्षक डिएस्पी हरिनन्द चौधरीले उदयपुर प्रहरीले गरेको कामहरुको बारेमा जानकारी गराएका थिए । यस्तै नगरका रहेको शान्ति सुरक्षाको अबस्था, प्रहरीको भुमिका, लागु औषधको बढ्दो संजाल, सडक दुर्घटनाको न्युनिकरण आदीको बारेमा सहभागीहरुले प्रश्न उठाएका थिए । छलफलमा उठेको प्रश्नहरुको जवाफ दिदै प्रहरी उपरिक्षक रमेश थापाले जिल्लामा प्रहरीको संख्या कम रहेको, एक जना प्रहरीले झण्डै ६ सय २० जनालाई सुरक्षा दिनुपर्ने अबस्था रहेको भएता पनि प्रहरीले लागु औषध नियन्त्रण लगायत शान्ति सुरक्षाको मामिलामा उपलब्धी हासिल गरेको बताएका थिए । उनले अपराध न्युनिकरणमा प्रहरीले गरेको कामहरुको बारेमा जानकारी दिन नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउदै राजनीतिक पार्टी, नागरिक समाज, संचारकर्मी लगायतको सहकार्यमा काम गर्ने बताउदै छलफलमा आएको सुझावहरुलाई मार्गनिर्देशनका रुपमा लिने बताएका थिए । उनले आत्महत्या, वालविवाह, सडक दुर्घटना र लागु औषध मुख्य चारवटा समस्याहरु रहेको जनाउदै समस्याहरुको पहिचान गरेर त्यसको न्युनिकरण लागि काम गरिरहेको बताएका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समग्र जिल्लाको शान्ति सुरक्षाको बारेमा बोल्दै ढुक्कले चाडवाड मनाउने बाताबरणका लागि प्रहरीलाई निर्देशन दिईएको बताएका थिए । यस्तै उनले प्रहरीले गलत कार्य गरेको रहेछ भने त्यस्ता प्रहरीलाई कारवाहीको दायरामा ल्याउने बताउदै उनीहरुको बारेमा सिधै आफुलाई जानकारी दिन आग्रह गरेका थिए ।