सन्तोष कुमार रौनियार
२२ असोज २०८०, बेल्टार उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग समाबेश गरि तत्काल ऐन जारी गर्न दवाव दिने स्थानीय तह केन्द्रीय संघर्ष समितिद्वारा जारी दवावमुलक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि ज्ञापनपत्र बुझाउदै आन्दोलित भएका हुन् । उनीहरुले नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने निर्णय भएकोले सोही अनुसार यहाँ पनि आन्दोलनका कार्यक्रम गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिका अध्यक्ष पुष्पराज सापकोटा र सचिव बालकृष्ण आचार्यसहित कर्मचारीको समुहले आज प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेललाई ज्ञापनपत्र बुझाउदै पेन डाउन गर्ने निर्णय भएको जानकारी गराएका थिए । प्रतिउत्तरमा प्रमुख प्रशासकिय अधिकृत पौडेलले यो काठमाडौं केन्द्रीत कार्यक्रम भएको हुनाले नगरपालिकाबाट प्रदान गरिने सेवा अबरुद्ध नगर्न आग्रह गरेका थिए ।
संघ र प्रदेशलाई मात्रै सहज हुने ऐन जारी भएको हुँदा तत्काल सच्चाउनु पर्ने माग सहित देशैभरीका ७ सय ५३ ओटै स्थानीय तहका कर्मचारीहरुले असन्तुष्टि जनाउँदै प्रदर्शन गर्दै आएका छन् । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने , निजामतिको परिभाषामा स्थानीय तहका कर्मचारीलाई पनि समेटिनु पर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका छन् ।