प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी उदयपुरको गाइघाट फुटबल क्लबलाई ।

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी उदयपुरको गाइघाट फुटबल क्लबले जितेको छ । भदौ २३ गतेदेखी उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित स्थित रामप्रसाद राई रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको फाईनल खेलमा पेनाल्टी सुटआउटमा ३ का विरुद्ध ४ गोल गर्दै सुनसरीको तालतलैया फुटबल क्लबलाई पराजित गरी गाइघाट फुटवल क्बलले उपाधी चुमेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो भने खेलको दोश्रो हाफमा दुवै टिमले आक्रमक खेल प्रस्तुत गरेका थिए । खेलको ४५औं मिनेटमा गाइघाट फुटबल क्लबका जर्सी नम्बर २३ का खेलाडी योन्जन हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको तालतलैयाले त्यसपछि सुधारिएको खेल प्रदर्शन गर्दै खेलको ५९औं मिनेटमा गोल फर्काउन सफल भएको थियो । तालतलैया फुटबल क्लबका जर्सी नम्बर ८ का खेलाडी उमेश कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा खेलमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटको माध्यमबाट निर्धारण गरिएको थियो ।

पेनाल्टी सुट आउटमा तालतलैयाका जर्सी नम्बर १५ का निवस कार्कीले प्रहार गरेको बल बाहिरिएको थियो भने जर्सी नम्बर ८ का उमेश कार्कीको प्रहार गाईघाटको गोल रक्षकले रोकेका थिए । तालतलैयाका तर्फबाट जर्सी नम्बर ७ का सिजल राई, जर्सी नम्बर १८ का सुजन चौधरी र जर्सी नम्बर ६ का रमेश राजबंशीले गोल गर्न सफल भएका थिए । यस्तै गाईघाटको तर्फबाट भने जर्सी नम्बर १५ का अमन लामा, जर्सी नम्बर २ का रवी राखल, जर्सी नम्बर १६ का पविन राई र जर्सी नम्बर ४ का कमल खवासले गोल गर्न सफल भएका थिए । गाईघाटका जर्सी नम्बर २३ का योन्जन हमालको प्रहारलाई तालतलैयाका गोल रक्षकले बचाएका थिए । ट्राईबेकरमा ४–३ ले जित निकाल्दै गाईघाट फुटवल क्लबले उपाधी जितेको छ भने सुनसरीको तालतलैया फुटवल क्लब उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । उपाधी विजेता गाईघाटले उपाधीसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता तालतलैयाले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । बिजेता सबैलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा , पुर्व मेयर खगेन्द्र राई लगायतले पुरुस्कार प्रदान गरेका थिए ।