उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि नेवार समुदायले गाईजात्राको अवसरमा आज सांस्कृतिक झाकीसहितको लाखे नाच प्रदर्शन गरेका छन् । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेन मन्दिरमा बिशेष पुजाआजापछि निकालिएको सांस्कृतिक झाकीसहितको लाखे नाचले बेल्टार बजार परिक्रममा गरेको छ । भिमसेन मन्दिरमा भएको पुजामा नेवाः देय दबू नगर समितिका सल्लाहकार रामकृष्ण श्रेष्ठ तथा उनकी श्रीमति रञ्जना कर्माचार्यले परिवारको तर्फबाट पितलको तोरण चढाएका थिए । नेवाः देय दबू चौदण्डीगढी नगर समितिका अध्यक्ष रमेश प्रधानका अनुसार करिब १ दशकभन्दा अघि पनी उक्त मन्दिरमा गजूर र मन्दिर वरीपरी रहने गरी पितलको पाला श्रेष्ठ दम्पतीले चढाएको जानकारी दिएका छन् । भाद्रकृष्ण प्रतिपदाका दिनबाट शुरु हुने गाईजात्रा पर्व आजबाट शुरु भएको हो । हरेक बर्ष नेवार समुदायका कुनै ब्यक्तिको मृत्यु भएमा सो परिवारको घरबाट गाईजात्रा निकालिने चलन छ । यस्तै लाखे नाच भाद्र कृष्ण अष्टमीसम्म प्रदर्शन गर्ने चलन रहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाहेक त्रियुगा नगरपालिका, कटारी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले आज गाईजात्रा पर्व मनाएका छन् । सोक्रममा त्यहाँ पनि लाखे नाच प्रदर्शन गरिएको नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठे बताएका छन् । उनका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, जोगिदह, चौदण्डीगढीको बेल्टार, बेलका नगरपालिकाको रामपुर, लालबजार र कटारी नगरपालिकाको कटारी बजारमा लाखे नाच प्रदर्शन गरिएको छ । पहाडी क्षेत्रको खोटाङ, भोजपुर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर र भक्तपुरबाट बसाइँसराई गरेर चौदण्डीगढीको बेल्टार , कटारी, गाईघाट क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले यो पर्वलाई निरन्तरता दिएका हुन् ।
जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । विशेषतः पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिए अनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइरहेको जनश्रुति छ । क्वाँती पूर्णिमा’को उपमा दिइने यो जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि यसपटक तिथिको घटबढले आज नै परेको छ ।