चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्काउदै अग्रतालाई केही कम गर्ने प्रयास गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको हडियाको खेलमा दोश्रो हाफमा पनि खासै सुधार हुन सकेन भने खेलको ६५ औं मिनेटमा फेरी पनि हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले वल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्दै आत्मघाती गोल गरेका थिए । त्यसपछि भने दुबै टिमले गोल गर्न सकेन र बसहाले उपाधी ३–१ गोल अन्तरले आफ्नो कब्जामा पार्न सफल भएको छ । वडा नम्बर ४ बसहाले पहिलो पटक मेयर कपको उपाधी जित्न सफल भएको छ । उपाधीसंगै वडा नम्बर ४ बसहाले ५० हजार रुपैयाँ नगद , ट्रफी, मेडल र प्रमाण पत्र पुरुस्कार प्राप्त गरेको छ । यस्तै लगातार चौथो पटक उप विजेता भएको वडा नम्बर १० हडिया ले २५ हजार रुपैयाँ नगद , ट्रफी, मेडल र प्रमाण पत्र पुरुस्कार प्राप्त गरेको छ ।

त्यस्तै आजको फाईनल खेलमा म्यान अफ् दि म्याचको उपाधी बसहाका पवन कार्कीलाई घोषणा गरिएको थियो भने बेस्ट गोल किपर वडा नम्बर ४ बसहाका निशान कार्की, बेस्ट डिफेन्डर बसहाकै रुपेश राई, बेस्ट मिड फिल्डर बसहाका नवल तामाङ्ग र बेस्ट स्ट्राईकर वडा नम्बर १० हडियाका बिनोद केशी तथा उदयमान खेलाडीको उपाधी वडा नम्बर ६ बेल्टारका अनिस बस्नेतलाई घोषणा गरिएको छ । त्यस्तै उच्च गोलकर्ताको उपाधी भने निश्चल राईले प्राप्त गरेका छन् भने उत्कृष्ट प्रशिक्षकको उपाधी वडा नम्बर ४ बसहाका केशव राई भएका छन् । उपाधी विजेता तथा उप बिजेताहरुलाई नगर उप प्रमुख मणिकादेवी दुलाल, निवर्तमान नगर प्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गुरागाँई लगायतले पुरुस्कार बितरण गरेका थिए ।