चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए ।

पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ६ का जर्सी नम्बर २ का खेलाडी अर्जुन खतिवडाले एक गोल गर्दै गोल अन्तर कम गरेका थिए तर खेलको ६८औं मिनेटमा वडा नं ४ ले पेनाल्टिको अवसर पाउदा जर्सी नं. १७ का सागर राइले उत्कृष्ट गोल गर्दै आफ्नो हयाट्रिक पुरा गरेका थिए भने टिमको अग्रता ४–१ मा पुर्याएका थिए । यस्तै खेलको दोश्रो हापको ईन्जुरी समयमा वडा नम्बर ६ का जर्सी नम्बर ११ का अनिस बस्नेतले गोल गरेता पनि जीतको लागि प्रयाप्त हुनसकेन । समग्रमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । अब भोली हुने दोश्रो सेमिफाईनल खेल वडा नम्बर ७ बेल्टार र वडा नम्बर १० हडियाबीच हुने नगर युवा तथा खेलकुद बिकास समितका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।