नेकपा माओवादी केन्द्रका नेता एवम् नव निर्वाचित प्रदेश सभा सदस्य राजन किराँतीले आफु पहिचान पक्षधर रहेकोले सम्मान, आत्मसम्मान र पहिचानका लागि निरन्तर लडिरहने बताएका छन् । किराँतीहरुको महान चाड उधौलीको अबसरमा किराँत राई यायोख्खा चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ को आयोजनामा बेल्टारबजारस्थित साकेला थानमा भएको कार्यक्रममा शुभकामना दिदै राईले पहिचानका लागि लडिरहने बताएका हुन् । यस्तै प्रदेश सांसद राईले प्रदेश नम्बर १ मा मंसिर ४ गते भएको प्रतिनीधि र प्रदेश सभा निर्वाचनबाट आएको परिणाम हेर्दा प्रदेशको नाम पहिचानको आधारमा हुनेमा आशंका रहेको बताएका छन् ।
यसअघिको प्रदेश सभामा नेकपा एमालेको गठबन्धन हुदाँ एमालेले पहिचानलाई स्वीकार नगर्दा प्रदेशको नामाकरण हुनसकेको थिएन भने यस पटक पनि ९३ सिट संख्या रहेको प्रदेश नम्बर १ मा ४० सिटको साथ एमाले सबैभन्दा ठुलो पार्टी भएको छ । प्रदेशको नाम राख्न दुई तिहाई सांसदको सहमति हुनुपर्ने तर प्रदेश सभामा एमालेको संख्या झण्डै आधा रहेकाले पहिचानको आधारमा प्रदेशको नामाकरण हुनेमा आशंका गरिएको छ ।